logo
  • Saturday, 21 September 2024

मन्त्री थापाद्वारा फरेस्ट्री कक्षाको उद्घाटन

Published Date : February 13, 1997
हेटौडा, २ फागुन २०५३ । स्थानीय विकास मन्त्री कमल थापाले वन विज्ञान अध्ययन संस्थान हेटौडाव्दारा संचालित वन स्नातक तह फरेष्ट्री कक्षा संचालन कार्यक्रमको आज यहां उदघाटन गर्नु भयो ।

चालु आ.व.मा अधिराज्यका विभिन्न जिल्लाका गरी १५ छात्रछात्राहरुले सो तहमा अध्ययन गर्ने भएको कुरा वन विज्ञान अध्ययन संस्थान हेटौडाले जनाएको छ ।

समारोहमा मन्त्री थापाले राष्ट्रको सर्वाङ्गिण विकासलाई गतिशिल तुल्याउन वन विज्ञान क्षेत्रको वढी महत्व रहेको चर्चा गर्दै देशमा पर्यावरण र भूसंरक्षणको संवध्र्दन गर्न आज दक्ष वन प्राविधिकको खांचो भएको वताउनु भयो ।

समाजमा शिक्षाको गुणात्मक उत्पादन गरेर मुलुकमा वन सम्वन्धिआधारभूत आवश्यकता पूरा गर्ने प्राज्ञिकहरुको भावनात्मक सहयोग राष्ट्रले अपेक्षा गरेको कुरा उहांले वताउनु भयो ।

सांसद हिरण्यलाल श्रेष्ठले मुलुकमा कृषि, वन पर्यावरणमा स्वच्छता ल्याउन र वन प्राविधिकहरुको सहयोगको खांचो पूरा गर्न वन विज्ञान क्याम्पसवाट योगदान पुग्ने वताउनु भयो ।

त्रिविविका उपकुलपति डा. कमल कृष्ण जोशीले शिक्षाको गुणात्मक विकासका लागि प्राज्ञिक र राजनीतिक क्षेत्र वीच सहमतिको खाचो औंल्याउंदै त्रिविविले राष्ट्रको समुन्नतिका लागि योगदान दिंदै आएको वताउनु भयो ।

मकवानपुर जिविस सभापति वीरवहादुर लामा र हेटौडा नगरपालिकाका प्रमुख डोरमणि पौडेलले समाजले राष्ट्रको उन्नतिका लागि गुणस्तरीय शिक्षा विकासको चाहना गरेको चर्चा गर्दै शिक्षामा निष्पक्षता अपनाउनु पर्ने कुरा औंल्याउनु भयो ।

वन विज्ञान अध्ययन संस्थान पोखराका डीन डा. हरिदत्त लेखकको सभापतित्वमा भएको सो समारोहमा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष माधव अधिकारी, प्रजिअ मदनप्रसाद अर्याल, त्रिविवि कर्मचारी संघ हेटौडाका अध्यक्ष रवीन्द्र कुमार तिवारी र वन विज्ञान अध्ययन संस्थान हेटौडाका क्याम्पस प्रमुख अशोक कुमार मल्लिकले आ–आफ्नो विचार व्यक्त गर्नु भयो ।

मन्त्री थापाले वन विज्ञान हेटौडा क्याम्पसका अवकास प्राप्त शिक्षक विद्यान्चल प्रसाद जैसवाल, चिन्तामणि लाल दास र गणेश वहादुर श्रेष्ठलाई दोसल्ला ओढाइ अभिनन्दन गर्नु भयो ।

वन विज्ञान अध्ययन संस्थान हेटौंडाले गत वर्ष शिक्षा दिवसको उपलक्ष्यमा आयोजित विभिन्न प्रतियोगितामा विजयी हुने छात्रछात्राहरुलाई त्रिविविका उपकुलपति डा. जोशीले पुरस्कार, पदक र प्रमाणपत्र वितरण गर्नु भयो ।रासस

––––

Top