logo
  • Saturday, 21 September 2024

गुह्येश्वरी मन्दिरको निर्माण शुभारम्भ

Published Date : February 13, 1997

काठमाडौं, २ फागुन २०५३ । राष्ट्रिय सभाका अध्यक्ष वेनीवहादुर कार्कीले काठमाडौं जिल्ला गोलढुंगा गाविसमा रहेको पुरानो गुहेश्वरी मन्दिरको गुरु योजना वमोजिमको निर्माण कार्यको शुभारम्भ गर्नु भयो । 

उक्त अवसरमा अध्यक्ष कार्कीले मन्दिर पुन: निर्माणका लागि तयार भएको गुरु योजनामा स्थानीय सक्रियता एवं सहभागिता समेत देखिएकोमा खुशी व्यक्त गर्नु भयो । 

सो समारोहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त तथा सो मन्दिर निर्माण समितिका सल्लाहकार रामप्रसाद श्रेष्ठले स्थानीय वासिन्दाको चाहना र सक्रियतामा गुरुयोजना तयार भै निर्माण शुभारम्भ भएकोले सवैको उत्साह, जोस र जांगरले समयमानै सफलता प्राप्त हुने कुरा वताउनु भयो । 

त्यसैगरी नुवाकोट जिल्ला अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले काठमाडौं उपत्यकाको पहिचान गराउने यस धार्मिक एवं ऐतिहासिक स्थलको संरक्षणको लागि स्थानीय श्रध्दालु व्यक्तिहरुको अभिरुचि भएको कुरा वताउनु भयो । 

स्थानीय नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि धु्रववहादुर भण्डारीले यस गुहेश्वरी मन्दिरको पुन: निर्माण कार्यले यस भेगका श्रध्दालु भक्तजनहरुको वर्षौदेखिको आकांक्षा पूरा हुने कुरामा विश्वास प्रकट गर्नु भयो । 

निर्माण समितिका उपाध्यक्ष तथा गोलढुंगा गाविसका अध्यक्ष सुदर्शन आचार्यले यस कार्यमा गाविस तर्फवाट रु.१ लाख प्रदान गर्ने कुरा वताउनु भयो । 

पांच रोपनी क्षेत्रमा फैलिएको गुहेश्वरी मन्दिर तथा वरपरको क्षेत्रमा मन्दिर, भजन घर, भोज खाने ठाउं, विवाह–व्रतवन्ध आदि धार्मिक, सांस्कृतिक कार्यक्रम आयोजनास्थल, पार्किङ्ग स्थल लगायत निर्माण कार्य गरिने छन् । रासस

–––––––

Top