logo
  • Saturday, 21 September 2024

पर्यटन सूचना निर्देशिका लोकार्पण

Published Date : February 13, 1997
काठमाडौं, २ फागुन २०५३ । पर्यटन तथा नागरिक उडड्यन मन्त्री चक्रप्रसाद वांस्तोलाले प्रकृति र संस्कृति जस्ता हाम्रा राष्ट्रिय धरोहरलाई पर्यटनको दृष्टिबाट उपयोग गर्ने हो भने यीनको संरक्षण प्रति संवेदनशील हुनु जरुरी भएको छ भन्नु भएको छ ।

श्री ५ महाराजाधिराजको गद्दी आरोहण रजत महोत्सवको उपलक्ष्यमा यातायात विकासका लागि आधारभूत कृयाकलाप समिति (बाटो) व्दारा नेपालमा पहिलो पल्ट प्रकाशित पर्यटन सूचना निर्देशिकाको आज यहां लोकार्पण गर्दै श्री वांस्तोलाले सो कुरा वताउनु भएको हो ।

मन्त्री वांस्तोलाले हाम्रो मूलुकमा पहिले सहयोगको रुपमा आएको पर्यटन व्यवसाय अहिले प्रतिस्पर्धामा उत्रिसकेको प्रसंग उल्लेख गर्दै नेपालको पर्यटनलाई २१ औ शताव्दीमा उतार्न ठोस प्रयासको शुरुवातका लागि पर्यटन वर्ष चुनौतीको रुपमा रहेको चर्चा गर्नु भयो।

पर्यटकहरुलाई सही सूचना प्रवाहित गर्ने उद्देश्यले प्रकाशित सो निर्देशिकामा नेपालको सांस्कृतिक, आर्थिक, भौगोलिक, व्यवसायिक आदि विषय वारे जानकारी दिइएको छ ।

संस्थाका सदस्य तथा निर्देशिकाका सम्पादक रमेशचन्द्र बन्धु भट्टराई , उपाध्यक्ष महेन्द्र कुमार लामा र सचिव श्यामप्रसाद गिरीले पर्यटन उद्योगलाई टेवा दिनु पर्ने धारणा व्यक्त गर्नु भयो ।

सभाका सभापति तथा बाटोका अध्यक्ष पूर्व परराष्ट्रमन्त्री शैलेन्द्र कुमार उपाध्यायले नेपालमा छिटो रोजगारीको अवसर दिने पर्यटन व्यवसायलाई सही रुपमा लैजानु पर्ने आवश्यकता औल्याउनु भयो । रासस 

––––

Top