काठमाडौं, २ फागुन २०५३ । नेपाल जस्तो विभिन्न धर्म र जात जाति भएको देशले आपसमा सहिष्णुता र वन्धूत्वको भावनाको प्रदर्शन गरेवाट विश्व शान्ति कायम गर्नमा वल पुग्ने विचार जापान स्थित विश्व मैत्री संघका केन्द्रीय अध्यक्ष यासुमी हिरोसीले व्यक्त गर्नु भएको छ ।
संसारका सवै धार्मिक संस्थाहरु मिलेर विश्व शान्तिको लागि काम गर्न सकेमा उद्देश्य प्राप्त हुने विचार रासस संगको एक भेटमा व्यक्त गर्दै उहांले पृथ्वीको शान्तिको लागि आगामी अगस्त महीनामा जापानमा अन्तरराष्ट्रिय धार्मिक सम्मेलन गर्ने कुरा वताउनु भयो । उक्त सम्मेलनमा नेपालवाट पनि प्रतिनिधित्व हुने भएको छ ।
पृथ्वीको शान्तिको लागि वातावरण जोगाउन आफूले हरसम्भव प्रयत्नरत रहने कुरा पनि उहांले उल्लेख गर्नु भयो ।
एक प्रश्नको उत्तरमा अध्यक्ष हिरोसीले नेपालले दु्रततर आर्थिक विकास गर्न वातावरणको संरक्षण र कृषिमा वायो–टेक्नोलोजीको व्यापक प्रयोगमा जोड दिनु पर्ने कुरा वताउनु भयो ।
नेपालको पर्यटन प्रवर्धनको सन्दर्भमा वातावरण संरक्षण अत्यन्तै महत्वपूर्ण भएको टिप्पणी गर्दै उहांले पर्यटक आकर्षण गर्न वृक्षरोपण र पर्यावरणीय सन्तुलनको जरुरी छ भन्नु भयो ।
कृषिमा वायो–टेक्नोलोजीको व्यापक प्रयोग हुनुपर्छ किनकी रिसाइक्लिन (प्रयोग भएका वस्तुहरुको पुन: प्रयोग)को प्रविधिवाट त्यस्ता वस्तुहरुको अत्यधिक प्रयोग गर्न सकिने कुरा उहांले वताउनु भयो ।
उहांले रिसाइक्लिनवाट फोहर मैलाको व्यवस्थापन गर्न र पानी सफा गर्नमा मद्दत पुग्ने कुरा पनि उल्लेख गर्नु भयो ।
सन् १९२५ मा स्थापना भएको उक्त संघका शाखाहरु नेपाल लगायत विभिन्न ७ मुलुकमा रहेका र सदस्य संख्या करिव दुई लाख २५ हजार छन् ।
नेपालमा उक्त संघ स्थापना भएको २० औं वार्षिक उत्सव समारोहमा भाग लिन एउटा सद्भावना टोलीको नेतृत्व गरी यहां आउनु भएका अध्यक्ष हिरोसीले शाखाहरुवाट नि:शुल्क स्वास्थ्य क्लिनिक, स्वास्थ्य शिविर संचालन, वृक्षरोपण र विश्व शान्तिको लागि विभिन्न जात जाति र धर्मावलम्वीहरु वीच आपसी भेटघाटका कार्यक्रम संचालन गर्दै राखेता पनि भविष्यमा अरु वढी परोपकारी कार्यहरु गर्नुपर्ने खांचो औंल्याउनु भयो ।
ती कार्यक्रम संचालन गर्न प्रधान कार्यालयवाट अनुदान प्राप्त हुने गर्दछ ।
कृषिमा सुधार गरी वातावरणीय संरक्षणवाट २१ औं शताव्दी समुन्नत हुने विचार उहांले राख्नु हुन्छ। रासस
––––––